दाङमा लागुऔषधसहित ३ जना पक्राउ

तुलसीपुर, २७ असोज ।
दाङमा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–७ का २४ बर्षीय पियुस जिसी, तुलसीपुर–६ का २० बर्षीय एलिक्स केसी र घोराही–९ घर भई अहिले घोराही–१५ बद्धिग्यारेज बस्ने ५३ बर्षीय खुम बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार असोज २५ गते दिउँसो ४ बजेको समयमा अस्थाई प्रहरी पोष्ट हापुरबाट असई मान बहादुर थारुको कमाण्डमा घोराही–१२ हापुर खोला नजिकै सडकमा सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले पियुस जिसीले चलाएको रा ७ प ४२८२ नम्बरको मोटरसाइकल र सोही मोटरसाइकलमा पछाडी सवार रहेका एलिक्स केसी संकास्पद अवस्थामा देखिएपछी जाँच गर्ने क्रममा ४०० क्यापसुल ट्रमाडोल फेला पारेको थियो ।


सोधपुछ गर्दा उक्त लागुऔषध खुम बहादुरबाट खरिद गरेर लिएको बताएपछी खोजतलास गर्दै जादा सोही दिन साँझ ५ बजेको समयमा घोराही–१५ को नवज्योती टोल नजिकै रा २ प ५०७८ नम्बरको मोटरसाइकलमा फेला पारी पक्राउ गरिएको हो ।

उनको घरमासमेत खानतलासी गर्दा लागुऔषध भेटिएपछी तिनैजनालाई पक्राउ गरी जिल्ला अदालत दाङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ वटा मोटरसाइकल र जम्मा १४ सय ४० थान ट्रमाडोल क्याप्सुल बरामद गरिएको छ ।