
दीपक बोहरा
तुलसीपुर,१२ असोज ।
लु २ ख ६५०२ नम्बरको गाडी आईतबार विहान दाङको तुलसीपुरबाट‘क्यू’मा यात्रुलाई लिएर रुकुम जाने योजनामै थियो । त्यही अनुसार शनिबार राति बाँफिकोटबाट तुलसीपुरकालागि हिड्यो । चाडपर्वको समय भएकाले पनि अहिले ‘क्यू सिस्टम’ मा गाडी चलाउन पाइन्छ । ‘क्यू’मा जसले यात्रु सम्पर्कमा ल्याउछ्,उसले बोकेर हिड्छ ।
त्यही अनुसार शनिबार राति हिडेको उक्त हाईस गाडी रुकुम बाँफिकोटबाट हिड्यो । त्यही अवसरमा स्थानीयहरु सोही गाडीमा चढे । तर, त्यो गाडी तुलसीपुर पुग्न पाएन । यद्यपी तुलसीपुर पुग्न आघा घण्टा अघि नै दुर्घटनामा प¥यो । सल्यान कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोलामा गाडी दुर्घटनामा प¥यो । जसमा एकाघरका आफन्तीहरु नै दुर्घटनामा मृत्यु भयो ।
आईतबार राति २ बजेतिर सडक भन्दा डेढ सय मिटर तल गाडी खस्दा बाँफिकोट गाउँपालिका ५ निवासी ६७ बर्षीया पबि केसी, सोही ठाउँका २७ बर्षीय प्रकाश केसी र ३० बर्षीय शसिधर केसीको मृत्यु भएको हो । मृतक पविलाई उपचार गर्न उनका छोरा र छोरी सहित तुलसीपुर आउन खोजेका थिए । आफन्ती पवन बोहराका अनुसार पवि मुटुको विरामी थिइन ।
उनलाई उपचार गर्न छोरा ३० बर्षीय खगेन्द्र केुसी र छोरी २७ बर्षीया विना केसी आएका थिए । उनीहरु दुबै जना गम्भीर घाइते छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचार कोहलपुरमा भइरहेको छ । दुबै जनाको स्वास्थ्य सुधार भइरहेको छ । उनीहरुसंगै उपचारमा आएका पविका भतिज शसिधर केसीको भने घटनास्थलमै मृत्यु भयो ।
केसी केही दिन अघि मात्रै बैदेशिक रोजगारका क्रममा विदा लिएर घर आएका थिए । दशै तिहार मानेर उनी पुनः रोजगारकाागि विदेश जाने तयारीमा थिए । अर्का मृतक प्रकाश केसी भने गाडीका सहचालक हुन् । गाडी साहु बसन्त केसीका उनी भतिजा पर्छन् । त्यो गाडीको हेरफेर प्रकाशले नै गर्दै आएका थिए ।
चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार राति १ बजेतिर दुर्घटना भएको हो ।



लाइभदाङ । १२ आश्विन २०८२, आईतवार २३:४० बजे