छोरीको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर, ३१ भदौ ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ पातेटाकुरा हाल अमेरिकामा रहेका दिपेन्द्र खड्का र बिमला पौड्ल खड्काले छोरीको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

कान्छि छोरी प्रतिष्ठा खड्काको दोस्रो जन्मदिनको अवसरमा शान्तिनगर–३ स्थित बिपी कोइराला मावि बयालेका शिशु कक्षादेखि ५ कक्षासम्मका १०७ जना विद्यार्थीहरूलाई कपी र पेन्सिल सहयोग गरेका हुन् ।

जन्मदिनमा आफ्नो गाउँ ठाउँका विद्यार्थीहरूलाई पठन पाठनमा सहज होस् भनी सहयोग गरिएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देवराज मल्लको अध्यक्षता तथा सल्लाहकार एवं प्रतिष्ठाका हजुरवुवा मन बहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम गरि शैक्षिक सामग्री वितरण गरिएको हो ।


त्यस अवसरमा प्रमुख अतिथि खड्काले फजुल खर्च गर्नु भन्दा सामाजिक काम गर्नु पर्ने भन्दै यस्तो कार्य गरिएको बताए । आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने बताए । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक तुलसी कुमारी गिरी, अतिरिक्त क्रियाकलाप संयोजक हिरा वली केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालय ब्यबस्थापन समितिका शिक्षक प्रतिनिधि निमबहादुर नेपालीले गरेका थिए । कार्यक्रममा प्रतिष्ठाका हजुर आमा मेनुका खड्का, अंकल अमृत खड्कासहितको सहभागिता रहेको थियो ।