दाङमा अनुसन्धान राष्ट्रिय सम्मेलन हुने

दाङ, १४ फागुन ।
दाङमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ। तुलसीपुर स्थित राप्ती बबई क्याम्पसले दुई दिने सम्मेलन आयोजना गरेको हो । क्याम्पस प्रमुख गणेश पार्धेका अनुसार आगामी चैत ६ र ७ गते ‘शिक्षा र अध्ययनका नतिजा सुधार्नकालागि अनुसन्धान र नवप्रबर्दनात्मक रणनीतिहरु’ विषय सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा काठमाडौं, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताहरूको सहभागिता रहने प्रमुख पार्धेले बताउनुभयो । सम्मेलनमा विद्यार्थीहरु विदेश पलायन हुनुका कारणहरु,नेपालमा उच्च शिक्षा र रोजगारीका अवसरहरु, ड्रपआउटको समस्या र समाधान, अवसरको पहिचानका विषयमा प्यानल छलफल हुनेछ ।


त्यस्तै साथै सम्मेलनले शिक्षा र शैक्षिक विधिहरुमा सुधार र नवप्रवर्तनकालागि एक प्लेटफर्मको रुपमा काम गर्नेछ । सम्मेलनमा शिक्षा शास्त्र, समाजशास्त्र, अर्थशास्त्र, भाषा र अन्य क्षेत्रमा नयाँ दृष्टिकोण र रणनीतिहरुमा चर्चा हुने प्रमुख पार्धेले बताउनुभयो । शिक्षा शास्त्रमा नयाँ विचार र रणनीतिहरुको उत्थान गरि शिक्षा प्रणालीको प्रभावकारिता बढाउन पनि यो सम्मेलनको आयोजना गरिएको प्रमुख पार्धेले बताउनुभयो ।

सम्मेलनमा १ सय बढी सहभागी हुनेछन् । शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अंग्रेजी भाषा लगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेकाहरूका विद्यार्थी सहभागी हुन पाउनेछन् ।