
तुलसीपुर, ३० भदौ ।
जेनजी आन्दोलनका क्रममा तुलसीपुर क्षेत्रमा भएको तोडफोड तथा आगजनीले प्रभावित सरकारी कार्यालय र अन्य सार्वजनिक संरचना सरसफाइ तथा व्यवस्थापनका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सहयोग गर्ने भएको छ ।
संस्थाको आज बसेको कार्यसमितिको बैठकले प्रभावित क्षेत्रलाई चाँडै सामान्य अवस्थामा फर्काउन योगदान पुर्याउने निर्णय गरेको हो । यस अन्तर्गत फोहोर व्यवस्थापन तथा सरसफाइका लागि संस्थाले फोहोर उठाउने गाडी, पानी आपूर्ति गर्ने ट्याङ्कर, ध्वस्त संरचना हटाउन डोजर लगायतका मेसिन तथा आवश्यक जनशक्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीले आन्दोलनपछि शहरको सौन्दर्य र सरसफाइमा ठूलो असर परेको हुँदा तत्काल सरसफाइ अभियान आवश्यक रहेको बताउनुभयो । उहाँले तुलसीपुरलाई स्वच्छ र सुरक्षित बनाउनका लागि सबै सरोकारवालालाई सहयोग र सहकार्य गर्न आग्रह समेत गर्नुभयो ।
साथै जेनजी आन्दोलनका क्रममा घाइते भई उपचाररत रहनुभएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना तथा दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
तुलसीपुर क्षेत्रमा जेनजी आन्दोलनमा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय, व्यक्तिका निजि निवास, होटेल, सडकछेउका संरचना तथा अन्य सार्वजनिक सम्पत्तिहरू क्षति भएको छ ।



लाइभदाङ । ३० भाद्र २०८२, सोमबार २२:११ बजे