
तुलसीपुर, ३० भदौ ।
दाङको तुलसीपुर स्थित इलाका प्रशासन कार्यालय आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ। जेनजीको आन्दोलनका क्रममा गरिएको आगजनीबाट पूर्ण रुपमा क्षति भएको कार्यालय प्रमुख महेश गुरुङले बताउनुभयो ।
उहाँका अनुसार तीन तलाको भवन नै लगेको र भित्र रहेका प्रशासनीक फाईल, नागरिकता अनुसूचिहरु, नागरिकता रजिष्टर, नागरिकता अभिलेख, तयारी पासपोर्ट र लेखा सम्बन्धि सबै कागजात जलेर नष्ट भएका हुन् ।
त्यस्तै कार्यालयका दुई वटा स्टोर कोठामा रहेका सबै सामग्रीहरु जलेर नष्ट भएको उहाँको भनाई छ । एउटा मोटरसाईकल, १६ वटा कम्प्युटर, ६ वटा ल्याप्टप, पाँच वटा सिपियु, क्यामेरा ४ वटा,लगायत कार्यालय भित्रका सबै सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
यसमा सबै भन्दा बढि प्रभावित नागरिकता शाखा परेको उहाँले बताउनुभयो । यदि नागरिकता हराएर प्रतिलिपि लिनु पर्ने भएमा कार्यालयसंग पनि त्यसको कुनै प्रमाण नहुँने र सम्बन्धित ब्यक्तीसंग पनि केही नभएमा नागरिकताको दुरुपयोग बढ्न सक्ने उहाँको भनाई छ ।
त्यस्तै कार्यालय परिसर भित्र रहेको हुलाक काउन्टर र सामी परियोजनाको काउन्टर समेत जलेर पूर्ण रुपमा नष्ट भएको प्रमुख गुरुङले बताउनुभयो ।



लाइभदाङ । ३० भाद्र २०८२, सोमबार २०:०५ बजे