अझै ५ वटा सल्लाहकार थप्छुः नगरप्रमुख टिकाराम खड्का

दाङ,१० चैत । तुलसीपुर उपमहानगरपालिकाले सल्लाहकार नियुक्ती गरेर तलब खुवाएको कुरालाई महालेखा परीक्षणले बेरुजु देखाएको सन्भर्दका बारेमा नगर प्रमुखले आफ्नो प्रतिक्रिया दिएका छन् ।

तुलसीपुरको एक टिभि कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले विषयगत सल्लाहकार चाहिने भन्दै अझै ५ जना सल्लाहकार थप्ने पक्षमा आफू रहेको बताए ।‘ मन्त्रीले बनाएका सल्लाहकार बैधानिक हुने , संघ र प्रदेशका तर, स्थानीय सरकारले बनाएका सल्लाहकार अबैद्यानिक हुने कुनै संविधानले लेखेको छैन’,उनले भने‘ बिषयगत सल्लाहकार थप्न आबश्यक छ ।

अरु ५ वटा थप्ने पक्षमा छु म । अहिले एउटा भन्नुभयो ।हामी विकास गर्ने हो, विषयगत सल्लाहकार चाहिन्छ, विज्ञ चाहिन्छ ।’


विज्ञ चाहिदा काम लगाउनै पर्ने भन्दै यो आबश्यकता रहेको बताए । महालेखा परीक्षण प्रतिवेदनले तिर्नुपर्ने बेरुजु भन्दा पनि सैद्धान्तिक बेरुजु देखाएको भन्दै यसले आफूाई केही असर नगर्ने उनको प्रतिक्रिया थियो ।‘किन बेरुजु हान्छ, उसले जानोस’ उनले भने‘तिर्ने बेरुजु छैन्, सैद्धान्तिक बेरुजु हो, उसले हानिराख्छ, चलिरहन्छ ।’

उपमहानगरपालिकाको लेखा समितिले पनि दैनिक ज्यालादारीमा सल्लाहकार नियुक्त गर्नुपर्नेमा मासिक तलब खुवाउने गरि नियुक्त गर्दा उपमहानगरपालिकालाई आर्थिक भार रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । सोही प्रतिवेदन उपमहानगरपालिकाको नगरसभाले पास गरेको छ ।