
काठमाडौं, २७ भदौ ।
अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो करिअर कानुन व्यवसायीको रूपमा ०३५ सालमा सुरु गरेकी थिइन्। पछि उनी अध्यापक पनि बनिन् । ०४२ सालमा आफू पढेको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गरेकी उनी पछि वकालत पेसामै सक्रिय भएकी थिइन्।
०६५ सालमा उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशको रूपमा नियुक्त भएकी थिइन् । २०६७ मा स्थायी न्यायाधीश बनेकी कार्की ०७३ मा पहिलो महिला प्रधानन्यायाधीश बनेकी हुन् ।
०७४ सालमा प्रहरी महानिरीक्षकको नियुक्तिसम्बन्धी सरकारको निर्णय बदरलगायत कारण उनलाई सरकारले महाअभियोग लगाएकोमा पछि सर्वोच्चले नै त्यसलाई रोक लगाएपछि उनी सर्वोच्च फर्किएकी थिइन्।
अवकाशपछि पनि उनी नागरिकका मुद्दा र सुशासनको पक्षमा सक्रिय रहँदै आएकी थिइन्।
भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको आन्दोलनले केपी ओली सरकार पतन भएसँगै गठन भएको चुनावी सरकारको नेतृत्व सुशीलाले पाएकी हुन्। जेन–जीकै मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन्।



लाइभदाङ । २७ भाद्र २०८२, शुक्रबार २३:०३ बजे