तुलसीपुरका चार नाकाबाट प्रवेश निषेध, जिल्लामा कर्फ्यु

तुलसीपुर, २५ भदौ । दाङको तुलसीपुरका चार नाकाबाट प्रवेश निषेध गरिएको छ । मंगलबार साँझ ६ बजेदेखि कर्फ्यु लागु भएपछि ति चार नाकामा नेपाली सेना तैनाथ छ । तुलसीपुरमा पूर्व–हात्तीखौवा, पश्चिम– कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्टमा नेपाली सेना तैनाथ गरिएको छ । जहाँबाट प्रवेश गर्न निषेध गरिएको छ ।

तुलसीपुर बजार पनि पूर्ण रुपमा बन्द छ । कर्फ्यु अवधिभर कुनै पनि नागरिकलाई बाहिर ननिस्किन भन्दै माइकीङ गर्दै हिडिरहेको छ । बजारमा पनि नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रुपमा गस्ती गरिरहेका छन् ।

त्यसैगरी यातायातका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् । अस्पतालहरु भने खुल्लाछन् ।


जिल्ला सुरक्षा समितिले हिजो वेलुका ६ः०० बजे देखि दाङमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु अवधिभर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्लामा राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङमा क्षेत्रमा गोपीनाला, पूर्वमा भालुवाङ पुल तोकिएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, दक्षिणमा प्रहरी वोर्डिङ स्कूल देखि गोरखा वोर्डिङ स्कूल नजीकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटल देखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूल देखि सेवार खोला पुलसम्म तोकिएको छ । त्यस्तै लमहीमा पूर्वमा– अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म तोकिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।