
लमही, २१ भदौ ।
लमहीमा मोटरसाइकलकाे ठक्करबाट एक जना घाइते भएका छन् । घाईते हुनेमा लमही नगरपालिका–१ सुनडबरी निवासी ७० वर्षीय गर्बु चौधरी रहेका प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो चौधरी आफ्नो इलेक्ट्रोनिक साइकलमा सवार भई पूर्व–पश्चिम राजमार्ग पार गर्ने क्रममा दुर्घटनामा परेका हुन् । पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा जाँदै गरेको रा ७ प ८७६३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । मोटरसाइकल चालक लमही नगरपालिका–४ भैस्कोर निवासी १९ वर्षीय वेबिट चौधरी रहेको खुलेको छ ।
दुर्घटनापछि घाइतेलाई उद्धार गरी तुरुन्तै लमही अस्पताल पुर्याइएको थियो । लमही अस्पतालमा सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि चौधरीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक पनि सामान्य घाइते छन । उनी अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका छन । राजमार्गमा सधैंजसो हुने जाम, तीव्र गति र सडक पार गर्ने क्रममा सावधानी नअपनाउँदा यस्ता दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । २१ भाद्र २०८२, शनिबार १९:३० बजे