
दिपक बोहरा
दाङ, २० भदौ ।
दाङको तुलसीपुर–७ गणेशपुर स्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) बनाईएको त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए । तर, स्थानीयले अतिक्रमणलाई रोके र विभिन्न रुखहरू रोपे । ति रुखहरू हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाईयो ।
साबिक राप्ती अञ्चलबाटै जनयुद्धको सुरुवात भएपछि शान्तिको सन्देश पनि साविक राप्तीबाटै दिनुपर्छ, भन्ने मान्यताले सोही ठाउँलाई ‘राप्ती शान्ति उद्यान’ का रुपमा विकास गर्ने गरि काम अघि बढ्यो । २०५९ सालमा स्थानीय हरि रिजालले त्यसको नेतृत्व गरे र इञ्जिनियर बासुदेव रिजालले त्यसलाई रेखांकन गरेपछि त्यहाँ पार्क निर्माणको काम अघि बढेको थियो । शान्तिको कामनासहित पर्यटकीय स्थल बनाउने परिकल्पना सहित काम अघि बढेको थियो । ‘त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो’, पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले भने ‘त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौं ।’
अहिले त्यही पार्कमा पर्यटकको घुँइचो लाग्ने गरेको छ । त्यहाँ शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति पनि राखिएको छ । त्यसलाई हेर्न पनि उत्तिकै घुँइचो लाग्ने गर्छ, भने त्यहाँको वन जंगलसहितको सुन्दर वातावरणमा रमाउन पनि त्यहाँ पुग्ने गरेको अध्यक्ष भण्डारीले बताए । ‘एउटा त यो ठाउँ आफै पनि सुन्दर छ, किन भने सामुदायिक वनमा यो पार्क छ’,उनले भने‘ त्यसमा पनि हामीले गौतम बुद्धको मुर्ति निर्माण गरेपछि झनै पर्यटकहरुको बढेका छन् ।’
त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तल लगायतका जनवारसंग पनि पर्यटकहरू उत्तिकै रम्ने गरेका हुन्छन् । त्यहाँ पोखरी समेत निर्माण गरिएको छ । जसमा डुँगा सयर पनि गर्न सकिन्छ । त्यसकालागि हाल तीन वटा डुंँगा रहेका छन् । पोखरीमा माछा पनि पालन गरिएको छ । अहिले पाँच हजार माछा पोखरीमा राखिएको अध्यक्ष भण्डारीले बताए । त्यहाँ रहेको हात्ति, गैडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको छ । रंगौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो पनि केही समयमा सकिने अध्यक्ष भण्डारीले बताए । त्यति मात्रै होईन्, त्यहाँ घोडा पनि सयर गर्न सकिन्छ । भित्र विभिन्न प्रजातीका फुलहरू पनि छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ ।
त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । त्यहाँ पिङ, स्वीमिङदेखि बच्चाहरुले खेल्ने हरेक सामग्रीहरू राखिएको हुन्छ । अध्यक्ष भण्डारीका अनुसार दैनिक ४ सयदेखि ५ सयसम्म पर्यटकले अवलोकन गर्ने गरेका छन् । चाडपर्व र विदाको समयमा भने दैनिक दुई÷तीन हजार बढिले अवलोकन गर्ने गरेका छन् । यसरी सरदर वार्षिक दुई लाख भन्दा बढि पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका छन् ।
गणेपुरपार्कमा जिल्ला बाहिरबाट पनि पर्यटकहरू आउने गरेका छन् । बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट आउने गरेका छन् । बाहिरबाट दाङमा काम विशेषले आएकाहरू पनि गणेशपुर पार्कको अवलोकन नगरी फर्किदैनन् । सपना चौधरी बाँके राप्ती सोनारी निवासी हुन् । उनको दीदीको विहे तुलसीपुरको घुसेरी भन्ने ठाउँमा भएकोछ । दिदी घर आउँदा सधै गणेशपुर पार्क पुगेर मात्रै फर्किन्छिन् । ‘म पहिले पनि यो पार्क हेर्न आएकी थिएँ, दिदीको घर आउँदा सधै यो पार्कमा आउने गर्छु’,उनले भनिन् ‘यहाँ घुम्दा आनन्द आउने भएकाले पनि म उहाँ आउछु ।’
विद्यार्थीहरुलाई प्रवेशमा ५० प्रतिशत छुट छ भने अपाङ्ग, असहाय, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्यो बाहेक अन्यले रु ३० को टिकेट काट्नु पर्छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २० भाद्र २०८२, शुक्रबार १३:४० बजे