
दाङ, १५ भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सत्ता जहिले पनि निरंकुश हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङको शनिबार तुलसीपुरमा भएको २८ औं साधारणसभालाई सम्बोधन गर्दै पूर्व मूख्यमन्त्री चौधरीले यस्तो बताए । “म पनि सरकारमा बसेँ”,उनले भने “राज्य, सत्ता जहिले पनि निरंकुश हुन्छ, राज्यलाई घच्घच्याउन यस्ता संस्था चाहिन्छ ।”
उनले हरेक अफ्टेरो अबस्थामा यस्ता संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको समेत उनले बताए । आगामी दिनमा पनि यो अस्तित्वलाई कायम गर्नुपर्ने पूर्व मुख्यमन्त्री चौधरीले बताए । ‘नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वाेच्चता’ भन्ने मूल नारासहित साधारण सभा भएको हो ।
शान्ति समाज दाङका सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले समाजले राज्यलाई जवाफदेही र पारदर्शी बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धितालले सत्ताधारीहरूले आफ्ना अनुकूल कानुन ल्याउने प्रयास गर्दा संस्थाले हस्तक्षप गर्दै आएको बताए ।
सस्थापक अध्यक्ष डिल्लिराज धितालले राजनीतिक उथलपुथलका कारण नागरिक समाज पनि यो यसको संस्था हो भन्ने अवस्थामा पुगेको बताए । साधारण सभामा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, समाजका केन्द्रीय सचिव तुलसीराम सुनार, राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनीका उपाध्यक्ष देवा डाँगी, ज्येष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उधोग बाणिज्य संघका महासचिव केशवराज केसी, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष खड्का, प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी, महिला मानव अधिकार रक्षकका पद्मा चौधरी, फेडो दाङका अध्यक्ष युवा करारा, कर्णाली प्रदेश सचिव डिल्लि प्रसाद जैसी, सुर्खेत सभापति दीपक गौतम, समाज कल्याण केन्द्रका सचिव जानुका केसीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन सदस्य रजनी शाहले प्रश्तुत गर्नु भएको थियो भने सांगठनिक प्रतिवेदन सचिव माधव बस्नेतले प्रस्तुत गरेका थिए ।
समाजका उपसभापति अमृत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माधव बस्नेतले गरेका थिए । २०५३ सालमा स्थापना भएको यस संस्थाले मानव अधिकार लोकतन्त्र शान्ति र अहिंसाको पक्षमा काम गर्दै आएको छ । हालसम्म मानव अधिकार तथा शान्ति समाजमा १०३ जना आजीवन सदस्य रहेका छन् ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार १७:३२ बजे