सात जना मिलेर यसरी पारे सुन ब्यबसायीलाई ‘हनिट्रयाप’

दीपक बोहरा
दाङ, २ भदौ । गएको साउन २६ गते घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी सुनचाँदी व्यबसायी दिनेश कुमार घर्तीलाई एक युवतिको फोन गयो । ति युवती नारायणपुरकै २२ बर्षीया सर्मिला भन्ने प्रमिला नेपाली थिइन । नेपालीले राति ११ बजेतिर घर्तीलाई फोन गरेर आफ्नो तिलहरी बेच्नु पर्ने भएको कुरा सुनाईन् ।

त्यसकालागि भेटेरै कुरा गर्नुपर्ने भएकाले कोठामा आउन भनिन् । आफू एक्लै भएकाले त्यही आउन भनेपछि घर्ती कोठामै गए । घर्ती कोठामा गएपछि एक्कासी रोल्पा परिबर्तन गाउँपालिका वडा नं. ५ निवासी ४० बर्षीय दिलिप कुमार वलीसहितको केही ब्यक्ती कोठाको ढोका ढकढक बनाएर ढोका खोल्न लगाए । ढोका खोलेपछि ति युवति र घर्ती एउटै कोठामा भेटिए ।

त्यसपछि घर्तीलाई कुटपिट भयो ।‘तैले हामीहरुको चेलीबेटीलाई बलात्कार गर्ने’भन्दै हातपात मात्रै गरे । त्यसपछि उनीहरुको ठूलो बार्गेनिङ भयो । घर्तीसंग पहिलो चरणमा घडेरीमा बार्गेनिङ भयो ।‘सुरुमा एउटा घडेरी तुरुन्त ति युवति सर्मिलाको नाममा पास गरिदिन भनेछन्’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने‘ तर, घर्तीले आफूसंग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ ।’


घडेरी नदिएपछि एक लाख रुपैँया नगद, २ वटा चेकमा दुई दिन फरकको मिति राखेर २÷२ लाख र अर्को चेकमा ७ लाख २० हजार गरि १२ लाख २० हजार रुपैँया लिन खोजे । चेक र नगद दिएपछि घर्तीले उनीहरुबाट छुट्कारा पाए । तर, आफूसंग भएको मोटो रकम अनाहकमै लुटिएपछि उनी प्रहरी समक्ष पुगे ।

त्यसपछि छानविन गर्दा मुख्य योजनाकार रोल्पा परिबर्तन–५, निवासी वलीसहित नारायणपुरकै अजय बुढाथोकी, लोकेन्द्र मगरसहित ७ जनाले यसरी योजना बनाएर एक महिना अघि नै फसाउ खोजेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । प्रहरी नाउब उपरीक्षक गौतमका अनुसार सोही कार्यमा संलग्न भएको भन्दै घोराही १० नारायणपुर निवासी ३२ बर्षीया पबित्रा डाँगी, सोही ठाउँकी ३२ बर्षीया बिमला डाँगी, सोही ठाउँकी २९ बर्षीया शान्ता नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ । अजय र लोकेन्द्र भने अहिले फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएको छ । कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।