तुलसीपुरका तीन विद्यालयका शिक्षक र विद्यालयमा देखियो कोरोना

तुलसीपुर
२२ पुस / दाङ तुलसीपुरका तीन विद्यालयमा कोरोना संक्रमण देखिएको छ । तुलसीपुर ८ स्थित अस्वारा मावि, तुलसीपुर ६ स्थित राप्ती बाल एकाडेमी र जनता सांस्कृत माविका विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार अस्वारामा ३ जना सुस्तश्रवन विद्यार्थी, ६ जना अन्य विद्यार्थी तथा ५ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत २ जना विद्यार्थी र जनता संस्कृत माविका एक जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै अन्य एक जना आईटी अध्ययनरत विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, उनी कुन विद्यालयका हुन्, भन्ने खुल्न नसकेको केसीले बताउनुभयो ।
उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणकालागि टेकुमा पठाईएको र आईतबार रिपोर्ट आइपुग्ने उहाँको भनाई छ । विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताकालागि बन्द गरिएको छ ।

पछिल्लो समय शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको भन्दै यसकालागि सचेत हुन आबश्यक रहेको उनले बताउनुभयो ।“विद्यार्थी र शिक्षकहरुमा नै कोरोना देखिएको छ”, उहाँले भन्नुभयो“यसले स्थिति भयाबह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आबश्यक छ ।”


विद्यालयमा नै बढि देखिएकाले केही समयकालागि विद्यालय बन्द गर्ने अबस्था आउन सक्ने उहाँको भनाई थियो । त्यस्तै स्वास्थ्यकर्मीमा पनि कोरोना नै देखिएको उहाँले बताउनुभयो । मेट्रो अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको उहाँले बताउनुभयो । साथै दुई जना उपमहानगरपालिकाका कर्मचारीमापनि कोरोना देखिएको छ ।

प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंलगायतका स्थानमा ‘टुर’ गएकाहरु रहेको निरीक्षक केसीले बताउनुभयो । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्राय ः भेलिसिल, कोभिसिल्ड खोप लगाएकाहरुलाई नै संक्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।

अहिलेसम्म तुलसीपुरमा ३९ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये ११ जना मात्रै खोप नलगाएका हुन् । राप्ती बाल एकाडेमीा प्रिन्सीपल ठाकुर डाँगीका अनुसार ति संक्रमित भनिएका विद्यार्थीहरु केही दिनदेखि विद्यालय नआएको बताउनुभएको छ ।