दाङमा स्ववियु निर्वाचन : कतै मतदान, कतै तालाबन्दी

दाङ, ५ चैत ।
दाङका चार क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सुर भइरहेको छ । चार क्याम्पसमा भने विद्यार्थी संगठनले लगाएको ताला झुन्डिएको छ ।

निर्वाचन भएका चार क्याम्पमा बिहानैबाट मतदान सुरु भएको छ । तर बाकी चार क्याम्पसमा विद्यार्थी संगठनले कारण निर्वाचन स्थगित भएको छ ।

देउखुरी बहुमुखी क्याम्पस लमही, जनता बहुमुखी क्याम्पस गढवा र ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीया र केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा बिहान ८ बजेदेखि मतदान भइरहेको छ ।


जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार निर्वाचन भएका चार क्याम्पसमा अहिले शान्ति पुर्ण मतदान भइरहेको छ । प्रहरी प्रमुख वलीका अनुसार आयुर्वेद विद्यापिठमा २, देउखुरी बहुमुखीमा ३, आदर्शमा २ र गढवामा १ वटा मतदान केन्द्र तोकिएको छ । पुरन्धारा बहुमुखी क्याम्पस हंशपुरमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

यता विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण महेन्द्र बहुमुखी क्याम्पस घोराही, विश्वविद्यालय विद्यापीठ बेलझुण्डी, जनता विद्यापीठ बिजौरी र राप्ती बबई क्याम्पस तुलसीपुरमा कारण निर्वाचन हुन सकेन ।

तालाबन्दी गरिएका क्याम्पसमा निर्वाचन कहिले अझै केही टुंगो लागेको छैन । महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत ८ मा निर्वाचन हुने भएको छ ।