अमेरिका पठाउने भन्दै ठगी गर्ने रुकुमका एक जना पक्राउ

दाङ, ४ भदौ ।
अमेरिका पठाइदिन्छु भन्ने प्रलोभनमा परेर सर्वसाधारणसँग करोडौं रुपैयाँ उठाएको आरोपमा रुमुक पश्चिमका एकजनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले मानव बेचबिखन अनुसन्धान ब्युरोको सहकार्यमा रूकुम पश्चिम सानोभेरी गाउँपालिका–२ का शेरबहादुर वलीलाई बुधबार पक्राउ गरेको हो ।


प्रहरीका अनुसार वलीले विभिन्न व्यक्तिलाई अमेरिका लैजाने भनेर ठूलो रकम असुलेका थिए । यस प्रकरणमा संलग्न अर्का व्यक्ति शशीराम रावत फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वलीविरुद्ध मानव तस्करीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।