
दाङ, ३ भदौ ।
दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक मङ्गलबार राति दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सह–चालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता बि.क., घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डि.सी. र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस अचानक अनियन्त्रित भई सडकको उत्तरतर्फ पल्टिँदा दुर्घटना भएको हो । बस चालक घोराही–१५ निवासी करिब ५० वर्षीय नारायण कुँवर दुर्घटनापछि फरार रहेका छन् । बसमा चालकसहित ८ जना सवार थिए ।
घाइते सातै जनालाई स्थानीय मेडिकलमा उपचारपछि राति नै डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा विद्युत पोल ढल्दा लाइन काटिएको भए पनि सडकमा भने यातायात आवागमन सामान्य रहेको दाङ प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा इलाका प्रहरी चौकी बेलझुण्डीका इन्चार्ज प्रहरी निरीक्षक सौजन डाँगीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।



लाइभदाङ । ३ भाद्र २०८२, मंगलवार २२:०६ बजे