
दाङ, ३१ साउन ।
दाङमा बाह्र हजारलाई कोभिड–१९ को खोप लगाइने भएको छ । आगामी भदौ २ गतेदेखि ४ गतेसम्म रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई १२ वर्ष माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
नेपालमा पछिल्लो समयमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ विरुद्ध यो खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले जानकारी दिनुभयो ।
खोप लगाउनका लागि दशवटै पालिकामा विभिन्न ९५ वटा खोप केन्द्र ताकिएको छ । जसमा घोराही उपमहानगरपालिकामा १५ वटा, तुलसीपुरमा २५ वटा, लमहीमा ८, राप्ती गाउँपालिकामा ९, गढवा गाउँपालिकामा ९, राजपुर गाउँपालिकामा ४, वंगलाचाली गाउँपालिकामा ८, बबई गाउँपालिकामा ४, शान्तिनगर गाउँपालिकामा ५ र दंगीशरण गाउँपालिकामा ७ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानु ज्योती ओलीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख गुरुङले कोभिडका विभिन्न भेरियन्टबाट वच्ने एक मात्र उपाय शरीरमा यससँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउनु भएको र यसको उपाय खोप नै भएको भन्दै यो अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।



लाइभदाङ । ३२ श्रावण २०८२, शनिबार ०८:३० बजे