
तुलसीपुर, ३० साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर–४ का ३२ वर्षीय सुरेन्द्र मल्ल, तुलसीपुर–८ का ३१ वर्षीय लोकेन्द्र वली, सल्यान बागचौर नगरपालिका–७ का ३२ वर्षीय राजेन्द्र पुन र गेष्ट हाउस सञ्चालक ४९ वर्षीय कमानसिंह केसी रहेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी निरीक्षक बिनोद राज खत्रीको नेतृत्वमा सात जनाको टोलीले शुक्रबार राति करिब ७ः५० बजे छापा मारेको थियो।
प्रहरीका अनुसार घटनास्थलबाट तासको एक गड्डी र नगद ४३ हजार ८९० रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । ३१ श्रावण २०८२, शुक्रबार २१:०६ बजे