तुलसीपुर–अमिलिया सडकमा अटो र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते

तुलसीपुर, २६ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ जसपुरस्थित तुलसीपुर–अमिलिया सडक खण्डमा आइतबार साँझ अटो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य बहादुर रानाका अनुसार आईतबार साँझ करिब ७ः४० बजे तुलसीपुरबाट उरहरीतर्फ जाँदै गरेको रा.१ ह १८३९ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको रा.३ प १२०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।


दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–१२ निवासी २८ वर्षीय समिर डाँगीको निधारमा सामान्य चोट लागेको छ भने पछाडि सवार २६ वर्षीया कमला दाहालको टाउकोमा गहिरो चोट लागी बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते भएकी छन्। दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।

अटो चालक तुलसीपुर–११ का २२ वर्षीय जनक केसी रहेका छन्। उनीसहित अटो र मोटरसाइकल हाल प्रहरी चौकी उरहरी जसपुरको नियन्त्रणमा छन्।