दलित अधिकारका लागि गैरदलितको साथ र सहयोग अपरिहार्य : अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगर
सिसहनियाँ, २५ साउन।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले दलित समुदायप्रति हुने विभेद कानुनी रूपमा अन्त्य भए पनि व्यवहारमा अझै पूर्णरूपमा अन्त्य भइनसकेको बताउनुभएको छ। उहाँले दलित अधिकार र मुक्तिका लागि गैरदलित समुदायको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो।

आइतबार राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँमा निर्माण गरिएको नेपाल राष्ट्रिय दलित सञ्जाल राप्तीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष विष्टले विपन्न दलित समुदायलाई राज्यबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भवनलाई विभिन्न गतिविधि सञ्चालनका लागि प्रयोग गर्न सकिने बताउँदै, दलित युवाहरूले परम्परागत सीप र कलाको जगेर्ना गर्दै प्रवर्द्धन गर्नुपर्ने र सिकेका सीपलाई व्यावसायिकरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, अध्यक्ष विष्टले समग्र पालिकाको समृद्धि र विकासमा दलित समुदायको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

राप्ती गाउँपालिकाको ७ लाख रुपैयाँ र बाँकी २ लाख जनश्रमदानमार्फत गरी कुल ९ लाख रुपैयाँ लागतमा निर्माण भएको दुई कोठे पक्की भवनको उद्घाटन कार्यक्रममा सञ्जालका अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता तथा अध्यक्ष विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य सुरेश कुमार चौधरी, कार्यपालिका सदस्यहरू रणबहादुर पुजाली र संजिप छिनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता, राप्ती केरा प्रवर्द्धन समूहका अध्यक्ष रणप्रसाद सुवेदीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सञ्जालका सल्लाहकार इन्द्रजित गोतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव रामकृष्ण सुनदासले गर्नुभएको थियो ।