प्रदेशसभाको पहिलो बैठक देउखुरीमै, भवन सिंगारिदै

अन्जना बिश्कर्मा
तुलसीपुर,२६ मंसिर /
लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका वडा नं. ३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ”, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भन्नुभयो“अब अन्य सानातिना काम बाँकी छन् ।”

प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ, भने बाहिर इन्टरलक लगाउने बाँकी छ । त्यस्तै गार्ड हाउसको ढलाई भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताउनुभयो । त्यो काम पनि केही दिनमै सकिने उहाँको भनाई छ ।

प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले भालुवाङ स्थित नयाँ भवनमा सफत खाने तयारी गरेको भन्दै त्यसकालागि अन्य तयारीका काम पनि धमाधम भइरहेका छन् । विद्युत जोड्ने काम पनि भएको छ । रंग, रोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ ।

प्रदेशसभा भवन १ अर्व २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्ड्रर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।


मुख्यमन्त्री आएपछि आबश्यक संरचना निर्माणको काम अघि बढेका छन् । मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री र मुख्य सचिबको निवास निर्माणको काम पनि सकिएको छ । अब अन्य मन्त्रालयकालागि संरचना तयार गर्ने काम अघि बढिरहेको छ । आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय,अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरि संरचना मर्मत गर्ने कार्य भइरहेको छ । अन्य मन्त्रालयको संरचनाकालािग भवन खोज्ने कार्य भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् ।

यस अघि ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा आएका थिए । तर, काम भने बुटवलबाट हुँदै आएको थियो । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आबश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भइ काम गर्दै आएको छ । अहिले राप्ती गाउँपालिका वडा नं.३ लालमटिया स्थित राप्ती प्राबिधिक शिक्षालयलाई सरस्वति माविमा स्तान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयकालागि संरचना प्रयोगमा आएका हुन् ।

२०५० सालमा स्थापना भएको शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो ।

भालुवाङमैप्रदेश पूर्वाधार प्राधिकरण अन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ । २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकावडा नं. १,२ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । साभारःअग्रिम साप्ताहिक