राप्ती–६ मा बेसहाराको लागि ‘सहारा दिव्यश्री’ संस्था स्थापना

तुलबहादुर कवँर मगर 

सिसहनियाँ २३ साउन । दाङको राप्ती गाउँपालिका-६ मा बेसहाराको लागि सहारा दिव्यश्री संस्थाको स्थापना भएको छ ।

हालै राप्ती गाउँपालिकामा साउन १९ गते दर्ता भई स्थापना भएको संस्थाको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

संस्थाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गर्नु भयो । संस्था उद्घाटनकै दिन वडा नम्बर ६ का ३१ जना जेष्ठ नागरिकहरूलाई करिव १४ हजार बराबरको  १/१ वटा झुल र फलफूल वितरण गरेको छ । गर्मीका समयमा डेंगी लगायत लामखुट्टेबाट लाग्ने रोगबाट जेष्ठ नागरिकहरूलाई सुरक्षित राख्न झुल वितरण गरेको संस्थाका अध्यक्ष प्रदिप कुमार चाैधरी बताउनु भयो । साथै अध्यक्ष चाैधरी गरिव, दुखीहरूको सेवा गर्ने र सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले संस्था स्थापना भएको बताउनु भयो ।


संस्थाका उद्घाटनका अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले धर्म कमाउने नाममा घरका देवता अर्थात जन्म दिने बुवा आमालाई विर्सेर धर्मका नाममा मन्दिर, चर्च र मस्जिद जाने नयाँ पिढीलाई सचेत गराउँदै घरका बुवाआमाको सेवा गरि धर्म कमाउन सकिने सुझाव दिनु भयो । अध्यक्ष विष्टले संस्था स्थापना सँगै संस्थाले पैसा बचत गरेर समाजकै बेसहाराको क्षेत्रमा खर्च गर्ने उद्देश बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।

त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरीले बेसहारालाई सहारा दिन संस्था स्थापना भएको बताउनु भयो । वडा अध्यक्ष चाैधरीले मु्ठ्ठी दान मार्फत वडा भित्रका गरिव, दुखी तथा जेष्ठ नागरिकहरूको सहारा दिदै समाज भित्रका विकृति, विसंगतिको अन्त्य गर्दै समाज विकासमा अगाडि बढ्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष प्रदिपकुमार चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको संस्था उद्घाटन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता,ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरे,  लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाकी सदस्य सुनिता चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य हरिशचन्द्र चाैधरीले गर्नु भएको थियो ।