मसोट खोलाको डाइभर्सन बाढीले बगाउँदा लमही–घोराही सडकखण्ड पुनः अवरुद्ध

दाङ, २३ साउन ।
दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएको छ । शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएको हो ।

डाइभर्सनको आधा भाग बाढीले बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए ।

घोराही–लमही आवागमन गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । साथै डाइभर्सन मर्मतको काम भइरहेको छ ।


यसअघि आकस्मिक रूपमा मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो । पुलबाट ठूला गाडीहरुको आवागमन बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको थियो । सोही डाइभर्सन शुक्रबार बिहान बाढीले बगाएको हो ।

मसोट खोला पुलबाट विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खाली सवारीसाधन मात्रै पुलबाट आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ ।