दाङमा कुलोमा बगेर दुई बर्षिया बालिकाको मृत्यु

दाङ, १९ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेत सोमबार साँझ करिब साढे ५ बजेतिर घरअगाडि खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसी बगाउँदा गम्भीर घाइते भएकी थिइन ।


बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर बाँके पठाइएको थियो।
उनको उपचारकै क्रममा राति करिब साढे ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए । शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।