मोटरसाइकलको ठक्करबाट पैदलयात्री रोकाको मृत्यु

दाङ, १८ साउन ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी गौमती रोकाको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार बिजौरीमा पैदल हिडीरहेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ६५ वर्षका रोकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोका बनबाट पात टिपेर छिमेकीको घरमा पात छोड्न जाँदा मोटरसाइकलले ठक्कर दिएको आफन्तीले बताएका छन् ।

रोकाको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शनिबार साढे ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको रानाले बताउनुभयो ।


रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको थियो । घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा ५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल यात्री रोकालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा दुईजना सवार रहेका थिए । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका– ७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।