
दाङ,१७ साउन । एनप्याब्सन दाङले शिक्षकहरुलाई प्रशिक्षण दिएको छ । एनप्याब्सनमा आबद्ध विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिएको हो । तुलसीपुरमा एक दिने शिक्षक कार्यशालाको आयोजना गरि शनिबार दाङका १३ भन्दा बढी विद्यालयका २ सय भन्दा बढी शिक्षकहरूलाई प्रशिक्षण दिएको हो
जसको प्रशिक्षकमा राजेन्द्र दाहाल थिए । उनले शिक्षणलाई बालमैत्री, खोजमुखी र अनुभवजन्य बनाउनुपर्नेमा जोड दिए । उनले आधुनिक शिक्षण प्रविधिको प्रयोग, कक्षा व्यवस्थापन र मूल्यांकन प्रणालीमा प्रगतिशील दृष्टिकोण अपनाउने तरिकाहरू पनि प्रस्तुत गरेका थिए । उनले विद्यार्थीलाई सहभागिता आधारित गतिविधिहरू, सानो समूह कार्य, केस स्टडी र प्रश्नोत्तर विधिलाई जोड दिएका थिए ।
्नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य बिमल गौतमको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले बदलिँदो शिक्षण प्रणालीसँगै शिक्षकले समयानुकूल आफूलाई रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे । साथै उनले शिक्षकले सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र वास्तविक सिकाइ उपलब्धि हासिल हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा केन्द्रीय सदस्य बिमल गौतमले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता तालिमहरू शिक्षण कार्यमा व्यावसायिकता ल्याउने माध्यम बन्ने विश्वास व्यक्त गरेका थिए ।
अध्यक्ष न्यौपानेले शिक्षा निरन्तर परिवर्तनशील क्षेत्र भएकोले शिक्षकमैत्री वातावरण, विद्यार्थी केन्द्रित पठनपाठन र व्यवहारिक शिक्षण प्रविधि अपनाउनु आजको आवश्यकता रहेको धारणा राखे । यस तालिममार्फत शिक्षकहरूलाई प्रगतिशील शिक्षण अवधारणाबारे प्रयोगात्मक ज्ञान दिनु नै मुख्य उद्देश्य रहेको उनको भनाई थियो ।
सहभागी शिक्षकहरूले प्रशिक्षण अत्यन्तै व्यवहारिक, प्रेरणादायी र शिक्षण कार्यमा प्रत्यक्ष रूपमा उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा एन प्याब्सन तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने सञ्चालन जिल्ला सचिव हरि प्रसाद भण्डारीले गरेका थिए ।



लाइभदाङ । १८ श्रावण २०८२, शनिबार २१:१२ बजे