घर धानेको कुकुर मरेपछि नौ दिन काजकिरिया !

दाङ, १५ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडासदस्य शशिधर पौडेलले आफ्नो घर धानेको कुकुर मरेपछि नौ दिन काजकिरिया गरेका छन् । मानविय सम्वेदनशीलता समेत हराइरहेको अवस्थामा कुकुरको काजकिरिया गर्दा सबैले अनौठो मानिरहेका छन् । तर, पनि कुकुरले पनि मानिस जस्तै सचेत भएर घर धानेको भन्दै त्यो कुकुर आफ्नो परिवारको सदस्य जस्तो भएको वडा सदस्य पौडेलले बताए । “यो कुकुरमा मानव जातिमा भन्दा राम्रो गुण थियो”,उनले भने “ घरमा कोही नहुँदा, घर हेर्थ्यो, हामी घरमा ताला नलगाएर जाँदा पनि त्यही कुकुरले घरको सुरक्षा गरेको हुन्थ्यो ।”

आफ्ना घरका मान्छे एक किलोमिटर टाढाबाट हर्न बजाउँदा पनि चिन्ने गरेका समेत उनको भनाई छ । त्यति मात्रै होईन्, घरका मान्छे बाहिर जाँदा मुख निन्याउँरो समेत बनाउथ्यो । पौडेलले उक्त कुकुरलाई ९ बर्ष पाल्नु भएको थियो । त्यो कुकुर मर्दा आफूलाई निकै पिडा भएको भन्दै ९ दिन परम्परागत रूपमा मानिसको मृत्युमा गरिने किरिया सम्पन्न गरेको बताए ।


उक्त कार्यक्रममा स्थानीयवासी, समाजसेवी, अन्य जनप्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पौडेलको पशुप्रति देखिएको भावनात्मक प्रेम र सम्मानको प्रशंसा गरेका छन् ।