अवरुद्ध राप्ती राजमार्ग झण्डै १० घण्टापछि खुल्यो

सल्यान, १४ साउन ।
वर्षासँगै पहिरो झर्दा राप्ती राजमार्ग झण्डै १० घण्टा पछि संचालन भएको छ। राप्ती राजमार्गअन्र्तगत सल्यान बागचौर नगरपालिका २ खरिबोट नजिकै सडक माथिबाट ठूलो पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।

मंगलबार राती करिब साढे ९ बजेतिर सडक माथिबाट पहिरो आउँदा पूर्ण रुपमा बन्द सडक बुधबार विहान ८ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।


रातको समयमा पहिरो हटाउन समस्या हुनुका साथै जोखिम पनि हुने भएकाले बिहानबाट मात्र पहिरो हटाउने काम सुरु भएको उनको भनाइ छ। सडक अवरुद्ध हुँदा साना सवारीका साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ लागेको भएता पनि ठूला सवारीका साधन भने बाटोमा नै रोकिएका थिए । सडक पूर्ण रुपमा संचालनसँगै ठूला सवारीका साधन पनि आ आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेको प्रहरीको भनाइ छ ।