भुस्याहा कुकुर नियन्त्रणमा ध्यान देउ

दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर क्षेत्रमा पछिल्लो समय भुस्याहा कुकुरको आतंकले जनजीवन त्रसित बनाएको छ । खोरमै पसेर बाख्रा चिथोर्ने, आन्द्रा–भुँडी निकाल्ने र बालबालिकासम्म आक्रमण गर्नेसम्मका घटना दिनानुदिन भइरहेका छन् । यस्ता घटनाको संख्या बढ्दै जाँदा पनि स्थानीय प्रशासन तथा सरोकारवाला निकायको निष्क्रियता चिन्ताको विषय बनेको छ ।

किसान पुनाराम भण्डारीका अनुसार, भुस्याहा कुकुरले अहिलेसम्म ५० भन्दा बढी बाख्रामाथि आक्रमण गरेका छन् । केही दिनअघि कुकुरको हुलले बाख्राको खोरमै ५ वटासम्म बाख्रामा आक्रमण गरी ज्यानसमेत लिएको छ । यसले किसानहरुलाई चिन्तित बनाएको छ ।  बाख्रा मात्रै होईन्, मानिसमा पनि कुकरहरुले आक्रमण गर्ने गरेका छन् । त्यसमा पनि बालबालिकामाथि पनि आक्रमण हुन थालेपछि समस्या झनै गम्भीर बन्दै गएको छ । सात वर्षीय रोशन चौधरी विद्यालय जाँदै गर्दा कुकुरले आक्रमण गरेर घाइते बनाएको घटना सार्वजनिक भइसकेको छ । यस्ता घटना अन्यत्र नदोहोरिउन् भन्नेतर्फ गम्भीर पहल आवश्यक छ ।

स्थानीय सरकार, पशु सेवा शाखा तथा सरोकारवाला निकायहरूले यस्तो संवेदनशील विषयमा तदारुकता देखाउनु आवश्यक छ । नियमित रूपमा कुकुर नियन्त्रण, खोप, बन्ध्याकरण, गम्भीर आक्रामक प्रवृत्ति भएका कुकुरको व्यवस्थापन, किसानलाई क्षतिपूर्ति प्रदानजस्ता कार्यहरू तत्काल सुरु हुनुपर्छ ।


कुकुरको पनि जीवन मूल्य छ भन्ने मान्यतालाई अस्वीकार गर्नु हुँदैन, तर त्यसका नाममा नागरिकको सुरक्षालाई जोखिममा राख्नु स्वीकार्य हुन सक्दैन । नागरिकको सुरक्षा र सम्पत्तिको रक्षा राज्यको पहिलो दायित्व हो । पाल्तु जनावर संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्दै तत्काल ठोस कदम चालिनु आजको आवश्यकता हो ।

तुलसीपुर जस्तो शहरी क्षेत्रमै यस्तो अवस्था देखिनु भनेको मुलुकभर यस्ता समस्या कति भयावह हुन सक्छन् भन्ने संकेत हो । यो केवल तुलसीपुरको मुद्दा होइन, यो राज्यद्वारा उपेक्षित जनताको आवाज हो–जसलाई सुन्नु र सम्बोधन गर्नु प्रेसको मात्र होइन, शासन व्यवस्थाको पनि जिम्मेवारी हो। साभारः अग्रिम साप्ताहिक