
लुम्बिनी प्रदेशमा खेलकूद विकासको नाममा खर्च भइरहेको राज्यको ठूलो रकम आज ‘गौरव होइन, गुम्सिएको अवसर’ को पर्याय बन्न थालेको छ। प्रदेश सरकारले दुई वटा गौरवका खेलकूद योजनाको उद्घोष ग¥यो –दाङको नेत्रलाल अभागी रंगशाला र रुपन्देहीको उजीरसिंह रंगशाला । तर ती दुवै योजना आज बजेट, व्यवस्थापन र इच्छाशक्तिको अभावमा अलपत्र अवस्थामा छन् । यो विडम्बनापूर्ण अवस्था एउटा संरचनाको मात्रै समस्या होइन–यसले प्रदेश सरकारको योजना निर्माण, प्राथमिकता निर्धारण र बजेट कार्यान्वयनको गम्भीर कमजोरी देखाउँछ।
एकातिर गौरवका योजनाहरु सुरुआतकै चरणमै रोकिएका छन् भने अर्कोतर्फ टुक्रे योजनाहरुमा बजेट छरिएको छ। तीन वर्षमा २६५ वटा योजनामा पाँच÷दस लाख रुपैयाँको बजेट बाँडफाँड गरिएको तथ्यांक आफैंमा राज्यको स्रोतको ख्यालरहित प्रयोगको उदाहरण हो। यस्तो सानोतिनो बजेटमा निर्माण भएका अधुरा संरचनाले न त स्थानीय खेलाडीलाई सुविधा दिन सक्छ, न त राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न। स्कूल र क्लबस्तरका मैदान सुधार गर्नु पनि आवश्यक हो, तर त्यो कार्य गौरवका ठूला योजनाको बलिदानीमा हुनुहुँदैन। प्रदेश सरकारले दीर्घकालीन सोचका साथ ठूला पूर्वाधार बनाउने, त्यसको अनुगमन गर्ने, बजेट निरन्तरता दिने र स्थानीय निकायसँग समन्वय गरेर परियोजना सम्पन्न गर्ने रणनीति लिनु अत्यावश्यक छ।
खेलकूद कुनै पार्टी विशेषको हैन, यो राष्ट्रको गौरवसँग जोडिएको विषय हो। यसले युवाहरुलाई अनुशासन, स्वाभिमान र राष्ट्रियता सिकाउँछ। तर, आज प्रदेशका रंगशालाहरु बजेट अभावमा र प्रशासनिक जटिलतामा रुमलिँदा खेलाडीहरु निराश छन्। अब पनि समय छ – सरकार गम्भीर होस् । गौरवका योजनाहरुलाई पुनः सक्रिय गरियोस् । टुक्रे योजनाको सट्टा केन्द्रीकृत, प्रभावशाली र नतिजामूलक लगानी गरियोस् । युवालाई अवसर दिने संरचना बनाउने काम प्राथमिकतामा ल्याइयोस् । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १४ श्रावण २०८२, मंगलवार ०९:५१ बजे