सडक विरोधी गतिविधि गरेको भन्दै संघर्ष समितिका संयोजक प्रकाश शाही र जगदीश गिरी पक्राउ

ओमप्रकाश गुप्ता
भालुवाङ,१६ वैशाख ।
सडक विरोधी गतिविधि गरेको भन्दै दाङको राप्ती गाउँपालिकाबाट २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले धानखोला-लमही चार लेन सडक संघर्ष समितिका संयोजक प्रकाश शाही र जगदीश गिरीलाई राप्ती गाउँपालिका-३ मसुरीयाबाट पक्राउ गरेको हो । माथिको निर्देशन भन्दै आफुलाई पक्राउ गरेको संघर्ष समितिका संयोजक शाहीले बताए ।


पक्राउ परेका शाही र गिरीलाई वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ । संयोजक गिरीले लामो समय देखि सो सडक खण्ड ४ वा ६ लेनमा विस्तार गर्न माग राख्दै विरोध गर्दै आएका थिए । यश अघि उनले प्रदेश सभा अगाडि विरोध प्रदर्शन, प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने काम गरेका थिए । यता संघर्ष समितिले भने पक्राउ परेका शाही र गिरीलाई तत्काल रिहा गर्न माग गरेका छन् । लोकतन्त्र, गणतन्त्रमा पनि विरोध र बोल्न नपाउने यो कस्तो शासन भन्दै युवाहरूले सरकारको विरोध गरेका छन् ।