
प्यूठान,१६ वैशाख ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठान र इलाका प्रहरी कार्यालय विजुवारको संयुक्त आयोजनामा “सुन्दर प्यूठान–सडक सुरक्षा अभियान” सञ्चालन गरिएको छ।
अभियान अन्तर्गत प्यूठान नगरपालिका–८ दम्तीस्थित बाग्दुला–बाहाने सडक खण्डमा विशेष ट्राफिक चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त क्रममा निजी (डबल क्याप) पिकअप तथा सार्वजनिक सवारी साधनहरूमा कानुन विपरीत जडान गरिएका १७ वटा छत हटाइएको छ। साथै अनावश्यक रूपमा जडान गरिएका फग लाइट, झल्लर ,स्टीकर ,मापदण्ड विपरीत फ्रन्ट गार्ड र ब्याक गार्ड तथा अन्य कानुन विपरीतका सामग्रीसमेत निकालिएको ट्राफिक प्रहरी कार्यलय प्यूठानका प्रमुख विष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यसै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ३९ वटा पिकअप तथा भ्यान सवारी साधनलाई कारबाही गरिएको छ। सवारी साधनका चालकहरूले छतमा यात्रु राखी यात्रा गराउने कार्यले दुर्घटनाको उच्च जोखिम बढाउने भएकाले यस्ता कार्य नियन्त्रण गर्न कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेले एकपटक कारबाहीमा परेका सवारी साधनमा पुनः छत जडान गर्ने ,अनावश्यक रूपमा फग लाइट राख्ने , झल्लर झुन्डाउने,सडक सुरक्षा विपरीतको स्टीकर टांस्ने,मापदण्ड विपरीत फ्रन्ट गार्ड र ब्याक गार्ड तथा अन्य कानुन विपरीतका कार्य गरेमा त्यस्ता सवारी साधन नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम उच्चतम् कारबाही गरिने जानकारी दिनुभयो।
उहाँले चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सुरक्षित यात्रामा सहयोग पुर्याउन आग्रह गर्नुभयो।
उंहाका अनुसार “सुन्दर प्यूठान–सडक सुरक्षा अभियान” आगामी दिनहरूमा जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिनेछ।



लाइभदाङ । १६ बैशाख २०८३, बुधबार ०९:२४ बजे