दाङमा एक वर्षमा सवारी दुर्घटना हुँदा ८१ जनाको मृत्यु

सागर सुबेदी
तुलसीपुर, १२ साउन ।
दाङमा आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटना परि ८१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले दिएको सूचना अनुसार सवारी दुर्घटना परि एक वर्षमा ५९९ जना घाइते भएका छन् भने ८१ जनाको मृत्यु  भएको छ । एक वर्षको अन्तरालमा ३६० पटक सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना संख्या र सवारी दुर्घटनामा घाइते हुनेहरुको संख्या केही बढे पनि मृत्यु हुनेको संख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २०३ वटा सवारी दुर्घटना हुँदा ३५२ जना व्यक्ति घाइते भएका थिए भने ९८ जनाको मृत्यु भएको थियो ।


अघिल्लो वर्षको तुलनामा यस वर्ष ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना कार्यक्रमलाई भने तिव्र पारेको छ । आ.व २०८०/०८१ मा १,०४५ वटा जनचेतना कार्यक्रम गर्दै ५१, ३८४ जनालाई ट्राफिक सचेतना प्रदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले यस आ.व २०८१/०८२ मा भने १,४०१ पटक जनचेतना कार्यक्रम गर्दै ९३,८६२ जनालाई ट्राफिक सचेतना प्रदान गरेको छ ।  साभारः अग्रिम साप्ताहिक