सल्यानमा यात्रुबाहक गाडी दुर्घटना, चालकसहित १५ जना घाइते

दाङ, ८ साउन ।
नेपालगंजबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी कुमाख गाउँपालिका–२ स्थित बढाई ज्युला भन्ने स्थानमा बिहीबार दिउँसो दुर्घटनामा पर्दा चालकसहित १५ जना घाइते भएका छन् । घाइते मध्य १४ जनालाई नेपालगंज पठाइएको छ ।

दुर्घटनामा परेर गम्भिर घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका– ६ निवासी २८ वर्षका गाडी चालक पारश आचार्य, ३६ वर्षका भुपेन्द्र बस्नेत, ६३ वर्षका टिकाराम आचार्य, ३२ वर्षकी दिपा बुढाथोकी, उनकी ६ वर्षकी छोरी कोपिला बुढाथोकी, १६ वर्षका इन्द्र रावत, ५६ वर्षका डोले बस्नेत, ३५ वर्षकी निर्मला बुढाथोकी, १० वर्षकी जेनिशा राना, ७ वर्षका महेन्द्र बस्नेत, ६२ वर्षका कालीमान हमाल, सुर्खेत भेरीगंगा नगरपालिका ९ बस्ने ३१ वर्षकी तुलसा सुनार, रुकुम पश्चिमको चौरजाहारी नगरपालिका १ बस्ने बर्ष ८४ की चन्दी बिष्ट र ३१ वर्षकी कुन्ता बिष्ट रहेका छन् । यी सबैको अवस्था सिरियस भएकाले थप उपचारका लागि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी हेम बहादुर केसीले जानकारी दिनुभयो ।


त्यसैगरी सामान्य घाइते रुकुम पश्चिमको चौरजाहारी नगरपालिका–४ निवासी २३ वर्षका भुवन लामिछानेलाई मिशन अस्पताल,चौरजाहरी रुकुम पश्चिम पठाईएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भे १ ख ३९९४ नम्बरको गाडी दिउँसो करिब १ बजे अनियन्त्रित भई सडकबाट २५ मिटर तल खसेको हो । घटना लगत्तै गएको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरेर अस्पताल पठाएको डिएसपी केसीले बताउनुभयो ।

यो दुर्घटनाले एकपटक फेरि ग्रामीण सडक सञ्जालको अवस्था, सवारी नियन्त्रण र सुरक्षासम्बन्धी व्यवस्थापनप्रति प्रश्न उठाएको छ । यात्रु ढुवानीमा प्रयोग हुने फोर्सजस्ता गाडीहरूको नियमित मर्मत, चालक दक्षता र सडक संरचना सुधार नहुँदासम्म यस्ता दुर्घटना दोहोरिन सक्ने संकेत यस घटनाले दिएको छ ।