
तुलसीपुर, ३० असार । बबई नदीमा डुबेर बेपत्ता भएका तुलसीपुरका दुई किशोरको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसीको शव आज साँझ ५ बजे फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिएका छन् ।
दुवै जना बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका थिए । छहरा नजिकैको बबई नदीमा दिउँसो साढे २ बजेतिर नुहाउने क्रममा उनीहरू बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार, बिधान नदीमा नुहाउने क्रममा बगाएपछि उनलाई बचाउन कुशलले पनि नदीमा हाम फालेका थिए । तर दुवै जना पानीको तीव्र बहावमा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले खोजी कार्य जारी रहँदा शव फेला परेको र आफन्तलाई खबर गरिएको जानकारी दिए ।
शव पोष्टमार्टमका लागि तुलसीपुर ल्याइनेछ । मृतक दुवै जना तुलसीपुरस्थित कलेजमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । उनीहरू छ जना साथीहरुसँग झरना अवलोकनका लागि पुगेका थिए ।



लाइभदाङ । ३० असार २०८२, सोमबार १९:४३ बजे