स्वास्थ्य बिमा सेवामा अन्यायः माओवादी केन्द्र दाङको आपत्ति

घोराही, २८ असार । नेकपा (माओवादी केन्द्र) दाङले स्वास्थ्य बिमा बोर्डले दाङका लागि तोकेको सेवा प्रवाहको कार्यविधि प्रति आपत्ति जनाउँदै उक्त निर्णय अन्यायपूर्ण भएको जनाएको छ।

स्वास्थ्य बिमा बोर्डले हालै दाङमा बिमा गरिएको बिरामीहरुले प्रथम सेवा बिन्दुबाट रिफरको पत्र ल्याए मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पाउने व्यवस्था लागू गरेको छ। तर यस निर्णयले घोराही क्षेत्रका सेवाग्राहीलाई विभेदपूर्ण व्यवहार गरेको नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यले बताएका छन्।

उनले भने, “घोराही क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई यो निर्णयले न्याय गरेन, तुरुन्त सच्याउन आवश्यक छ।”


स्वास्थ्य बिमा बोर्डले दाङका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, स्युजा प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र बङ्गलाचुलि अस्पताललाई प्रथम सेवा बिन्दुका रूपमा तोकेको छ। ती स्वास्थ्य संस्थाबाट रिफर नल्याएसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमा अन्तर्गत उपचार नपाउने निर्णय गरिएको छ।

यता, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती आँखा अस्पताल तुलसीपुरलाई भने रिफर सेन्टरका रूपमा कायम गरिएको छ। स्थानीयवासी तथा राजनीतिक दलले यो निर्णय तत्काल पुनरावलोकन गर्न माग गरेका छन्। उनीहरूका अनुसार यस्तो निर्णयले बिरामीलाई सहज सेवा पहुँचबाट वञ्चित गराउने र उपचारमा ढिलाइ गराउने खतरा बढाएको छ।