जन्मदिनको अवसरमा शिक्षक कडेलद्वारा आर्थिक सहयोग तथा स्टेसनरी सामग्री वितरण

तुलबहादुर कवँर मगर
भालुबाङ, २२ असार ।

दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाका शिक्षक छविलाल कडेलले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग तथा स्टेसनरी सामग्री वितरण गर्नुभएको छ।

आफ्नो ३३औं जन्मदिनको अवसरमा शिक्षक कडेलले आफू कार्यरत विद्यालयमा शिशु कक्षामा अध्ययनरत २८ जना बालबालिकालाई स्टेसनरी सामग्री कपी,पेन्सिल वितरण गर्नुभएको हो। साथै, उहाँले राप्ती गाउँपालिका–८ मा मिलन डाँडामा रहेको निलसागर सेवाश्रममा नगद २ हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभएको छ।


“जन्मदिनको नाममा फजुल खर्च गर्नुको सट्टा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु उचित ठानेँ,” शिक्षक कडेलले भन्नुभयो, “यस्ता कार्यले आफूभित्र सकारात्मक ऊर्जा थपिने अनुभव गरेको छु।”

उहाँले आगामी दिनमा पनि यस किसिमका सामाजिक तथा मानवीय सेवामूलक गतिविधिलाई निरन्तरता दिने बताउनुभयो ।