
तुलबहादुर कवँर मगर
मसुरिया, २२ असार।
दाङको राप्ती गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गर्दै कम्प्युटर डिप्लोमा कोर्ष सम्बन्धी १ सय ८८ घण्टे तालिम प्रदान गरेको छ।
गाउँपालिकाको आयोजना तथा गुडभिजन कम्प्युटर प्रशिक्षण केन्द्र, राप्ती–४ मौरीघाटको व्यवस्थापनमा सम्पन्न उक्त तालिममा ७ जना सहभागी रहेका थिए। तालिमकाे प्रशिक्षक घनश्याम ओली रहनुभएको थियो।
आईतबार सम्पन्न तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शारीरिक अपाङ्गता हुनु कुनै कमजोरी नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “शारीरिक अपाङ्गता भएकामा पनि अपार क्षमताहरू हुन्छन्। मानसिक रूपमा बलियो भएर आत्मविश्वासका साथ अघि बढ्न सक्नुपर्छ। सिकेको कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता हुन्छ।”
अध्यक्ष विष्टले अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक कार्यक्रममार्फत स्वावलम्बी बनाउँदै लैजान गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गर्ने समेत बताउनुभयो ।
समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले गर्नुभएको थियो।



लाइभदाङ । २२ असार २०८२, आईतवार १९:४८ बजे