लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

दीपक बोहरा
दाङ, ५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर  महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ।

आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताउनुभयो । सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ। लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। त्यस्तै माओवादी केन्द्रका १० सांसद छन् ।


त्यस्तै साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार/चार जना, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन/तीनजना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा दुई/दुई जना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक जना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ संसद आवश्यक पर्छ।