
तुलसीपुर,२१ असार । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत दाङ तुलसीपुरको पातुखोला पुल जीर्ण हुन थालेपछि श्रमदान गरेर तटबन्ध गरिएको छ । शनिबार माओवादी केन्द्र तुलसीपुर र वाईसिएल तुलसीपुरले श्रमदान गरेर तटबन्ध निर्माण गरेको हो । जहाँ तटबन्ध नहुँदा पुल मुनीको भाग गहिरिएर गएको छ ।
जसले गर्दा पुल जीर्ण अबस्थामा रहेपछि श्रमदान गरेर तटबन्धको काम गरिएको माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष मोहन थापाले बताए ।“यो पुल पश्चिम दाङ जोड्ने महत्वपूर्ण पुल हो, तर बर्षेनी यहाँको भाग कटान हुँदै गएको छ”,उनले भने “यसरी कटान हुँदा पुल जीर्ण बन्दै गएको छ ।”
जलस्रोत तथा सिंचाई डिजिजन कार्यालय तुलसीपुरले ७ वटा जाली दिएपछि श्रमदान गरेर तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माणकालागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म श्रमदान गरिएको हो । हरेक सामाजिक कार्यमा माओवादीले सहभागीता जनाउने भन्दै यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए ।
पछिल्लो समय पातुखोला पुल जीर्ण बन्दै गएको छ । त्यो पुल संरक्षणकालागि पहल थाल्न स्थानीयले दवाव दिने गरेका छन् । पटक–पटक सम्बन्धित निकायलाई झकझक्याएपनि यो पुलका बारेमा चासो नदिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए ।




लाइभदाङ । २१ असार २०८२, शनिबार १५:२३ बजे