“फुड एण्ड डेरी पढे रोजगार पाईन्छ”

तुलसीपुर, १८ असार ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फुड एण्ड डेरी अध्ययन गरेकी पूर्णिमा बोहोरा अहिले एसिएन थाइ फुड्स कपिलवस्तुमा खाद्य गुणस्तर निरिक्षकका रुपमा कार्यरत छिन् । उनले काम गर्ने कम्पनीले प्रिती लगायत विभिन्न चाउँचाउँहरु उत्पादन गर्नेगरेको छ । सीप सहितको प्राविधिक शिक्षा हासिल गरेको हुँदा उनलाई रोजगारीका लागि कहि कतै पनि भौतारिनु परेन ।

“अन्तिम सेमेस्टरको परीक्षा दिएपछि रिजल्ट नआउँदै मैले काम गर्न सुरु गरेको हुँ ” उनले भनिन् । सामुदायिक विद्यालयकी सामान्य छात्रा बोहोरालाई सुरु सुरुमा कोर्ष गार्हो भएपनि विस्तारै सहज भएको बताइन् । सहजै काम पाएपछी उनलाई फूड एण्ड डेरी पढेर ठिकै गरिएछ जस्तो लागेको छ ।

अहिले उनीसँगै सोही कम्पनीमा काम गर्दै आएकी छिन् तुलसीपुर ८ कि दुर्गा विक । उनले पनि फुड एण्ड डेरी अध्ययन गरेर सोही ठाउँमा कार्यरत छिन् । “ सीप हुने शिक्षा पाएपछी काम सजिलै पाइदो रहेछ ” विकले खुसी व्यक्त गरिन् ।


तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयमा फुड एण्ड डेरी अध्ययन गरेका अधिकांश विद्यार्थी रोजगारमा रहेको प्रशिक्षक रक्षा पौडेलले बताउनुभयो । नेपालमा खाद्य प्रविधिज्ञको भूमिका महत्वपूर्ण रहेको भन्दै आवश्यकताको अनुपातमा उत्पादन कम हुने भएका‍ले अवसर धेरै रहेको पनि उहाँको भनाई थियो ।

नेपालमा ३ ठाउँमा मात्रै अध्यापन गराइने हुँदा जनशक्तिको अभाव रहेको कुरामा उहाँले जोड दिनुभयो । “नेपालमा खाद्य उद्योगको विकासले गर्दा फुड एण्ड डेरीमा सम्भावना निकै फराकिलो हुँदै गएको छ ” प्रशिक्षक पौडेलले बताउनु भयो ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयले न्युनतम शुल्कमा विगत ४ वर्षदेखि फूड एण्ड डेरी अध्यापन गराउँदै आएको छ । शिक्षालयका प्रमुख वसन्त आचार्यका अनुसार सरकारी सेवामा पनि यसको सम्भावना रहेको छ ।