राप्तीमा स्वास्थ्य समीक्षा, उत्कृष्ट तीन संस्था सम्मानित

मसुरिया, ३ भदौ ।
दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ।

मंगलबार गाउँपालिकाको सभाहल मसुरियामा स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, उपलब्धि तथा सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको हो।

सो अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने तीन स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ।

सम्मानित हुनेमा राप्ती आधारभूत अस्पताल कालापानी, लालमटिया स्वास्थ्य चौकी भालुबाङ र लालमटिया आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन्।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा, पालिकाअन्तर्गतका सरकारी स्वास्थ्य संस्था तथा स्वास्थ्य क्षेत्रमा साझेदारी गर्दै आएका संस्थाले सञ्चालन गरेका कार्यक्रम र प्रगतिको प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा अध्यक्ष विष्टले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक बजेट तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्दै उहाँले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी पालिका अघि बढिरहेको बताउनुभयो।

स्वास्थ्यकर्मीका पेशागत सुरक्षा तथा प्रोत्साहनका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुका साथै पारिश्रमिकसमेत वृद्धि गरिएको उहाँले बताउनुभयो।

स्वास्थ्यकर्मीले प्रदान गर्ने सेवाबाट बिरामी तथा सेवाग्राही सन्तुष्ट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष विष्टले स्वास्थ्य संस्थामा आउने नागरिकले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो।


स्वास्थ्य कार्यक्रमको नियमित समीक्षा गरी देखिएका समस्या पहिचान र समाधानका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र सिकाइलाई आगामी योजना तथा कार्यक्रममा समेट्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष विष्टले बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा प्रवाहमा कहिलेकाहीँ प्रक्रियागत समस्या देखिने गरेको बताउनुभयो। केही स्वास्थ्य सूचकमा अपेक्षाकृत कम प्रगति हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले सुधारका लागि सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

स्वास्थ्यकर्मीले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष चौधरीले सेवाग्राहीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादव, राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुशील केसीलगायतले स्वास्थ्य सेवा प्रवाह, उपलब्धि तथा सुधार गर्नुपर्ने पक्षबारे धारणा राख्नुभएको थियो।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पालिकाभित्र सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी दिनुभयो। स्वास्थ्य संस्थाले प्रस्तुत गरेका प्रगति विवरणका आधारमा आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने उहाँले बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, साझेदार संस्थाका प्रतिनिधि, नेपाल रेडक्रसका प्रतिनिधि तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण सिनियर अहेब धनबहादुर बुढा क्षेत्री र स्वास्थ्यकर्मी प्रतिमा विष्टले गर्नुभएको थियो।