दाङमा चार दिनमै ३७ थान भरुवा बन्दुक बरामद

दाङ, ४ भदौ ।
दाङ प्रहरीले चार दिनको अवधिमा जिल्लाका विभिन्न जंगलबाट ३७ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा जंगलका झाडी तथा विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


जिल्लाका विभिन्न जंगलमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा जंगलका विभिन्न स्थानबाट ३७ थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा। हेमबहादुर केसीले जानकारी दिनुभयो।

बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।