घोराही, १४ कात्तिक ।
प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्मा जनताको खेतबारीमा मै पुगेर सल्लाह सुझाव माग्नुभएको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा सल्लाह सुझाव लिन तथा किसानको बालीनालीको अवस्था बुझ्न शर्मा धान काट्ने तथा दाउने ठाउँमा पुग्नुभएको हो । घोराही १७ पचुर्कामा पुगेर उहाँले किसानहरूको समस्याको बारेमा बुझ्नुभएको हो । पूर्वमन्त्री खेतमै आएर जनतासँग छलफल तथा अन्तर्क्रिया गरेपछि किसानहरू समेत खुसी भएका छन् ।
‘पूर्वमन्त्रीज्यूले हाम्रा समस्याहरूको बारेमा जानकारी लिनुभएको छ, हामीले हाम्रा सबै समस्याको बारेमा अवगत गराएका छौं,’ स्थानीय आइति चौधरीले भन्नुभयो, ‘हामीलाई जनताको साथमा आउने यस्तै नेता चाहिएको हो ।’
अर्का स्थानीय महेश चौधरीले यस पटकको निर्वाचनमा आफूहरूले रेखा शर्मा सहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । उहाँले शर्मा निकै जनशैली भएकी र विकासप्रेमी नेता भएको बताउनुभयो ।
पूर्व मन्त्री शर्माले मुलुकको आर्थिक विकासको आधार कृषि भएको बताउनुभयो । कृषि उत्पादन बढाउन किसानलाई अनुदान, विमा, कृषि उपकरण उपलब्ध र बजारीकरणको जिम्मा राज्यले ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
लाइभदाङ । १४ कार्तिक २०७९, सोमबार १८:३१ बजे