
सल्यान, १७ असार ।
सोमबार बेलुकादेखि अवरुद्ध राप्ती राजमार्ग झन्डै १२ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा सोमबार बेलुका ६ बजेदेखि राजमार्ग पूर्ण रुपमा बन्द भएको थियो ।
बेलुका देखिनै पहिरो हटाउने प्रयास गरे पनि पहिरो अस्ने क्रम नरोकिएको र रातिको समयमा काम गर्न कठिनाई भएकाले मंगलबार बिहान देखि मात्र पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक विभागको मेसिनले पहिरो हटाएपछि बिहान ८ बजेदेखि यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने जानकारी दिए। वर्षातको समयमा भएकाले अत्यावश्यक काम बाहेक अन्य काममा हिडडुल नगर्न आग्रह समेत गरे।सडक सूचारु भएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको उनको भनाइ छ ।
चोरखोलामा पटक पटक पहिरो झर्दा पश्चिम रुकुम, पुर्वी रुकुम, रोल्पा, सल्यान र दाङका यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् ।



लाइभदाङ । १७ असार २०८२, मंगलवार ०९:४१ बजे