
दाङ,१६ असार।
लगातारको वर्षाले दाङमा बाढी, पहिरो, चट्याङ र नदी कटानजस्ता जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङसहित आसपासका क्षेत्रमा मनसुन सक्रिय रहेकाले पूर्वतयारीमा जुट्न सम्बन्धित सबै सरोकारवालाहरूलाई निर्देशन दिएका छन्।
प्रशासनले सम्भावित विपद् न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, रेडक्रस, सामुदायिक संस्थाहरू र सञ्चारमाध्यमहरूसँग समन्वय गर्दै काम थालिसकेको जनाएको छ। जोखिम क्षेत्रको पहिचान सूचनाको आदानप्रदान तथा उद्धार कार्यको पूर्वतयारीमा जोड दिइएको छ।
साथै, विपद् व्यवस्थापनको लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी) टिमलाई सक्रिय अवस्थामा राखिएको समेत उनले बताए ।
प्रशासनले नागरिकलाई पनि सचेत रहन अपिल गरेको छ। जोखिमयुक्त क्षेत्रहरूमा बसोबास गरिरहेकालाई सतर्क रहन, आवश्यक परे सुरक्षित स्थानमा सारिने व्यवस्था गर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न पनि सुझाव दिइएको छ।




लाइभदाङ । १६ असार २०८२, सोमबार १९:४९ बजे