
विराटनगर, १० असार ।
नोबेल शिक्षण अस्पताल, विराटनगरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी इलामकी ३९ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार पीडित महिलालाई एक साता अघिदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई सोमबार बिर्तामोडस्थित एक अस्पतालमा परीक्षण गराइएको थियो, जहाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई नोबेल शिक्षण अस्पताल लगिएको थियो। तर, अवस्था जटिल बन्दै गएपछि आकस्मिक कक्षमा राखेर उपचार गरिएको भए पनि मंगलबार बिहान उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
महिलाको शव सुरक्षाका मापदण्डअनुसार प्रहरीको जिम्मामा बुझाइएको छ।
हाल कोशी प्रदेशमा पुनः कोरोना संक्रमण देखा पर्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। हालसम्म झापा, मोरङ र इलामका गरी ८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना रहेका छन् ।
स्वास्थ्यकर्मीहरूले सार्वजनिक स्थलमा मास्क प्रयोग, भीडभाडबाट जोगिने र नियमित हात धुने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन्।



लाइभदाङ । १० असार २०८२, मंगलवार १५:२४ बजे