खेलाडीहरुमा अनुशासन हुन आवश्यक छ : पुर्व सांसद चौधरी

ओमप्रकाश गुप्ता,
सिसहनियाँ १६ पुस ।


       माघी पर्वलाई लक्षित गरी राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा शुक्रवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ को आयोजनामा महिला पुरुष भलिवल र पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको हो ।
वडा अध्यक्ष गोकर्णबहादुर रानाको अध्यक्षता एवम् पुर्व सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यतामा खेलकुद प्रतियोगिता सुरु भएको हो । खेल उद्घाटन कार्यक्रममा बोल्ने बोल्दै प्रमुख अतिथि चौधरीले खेलकुदको माध्यमबाट शारीरिक मानसिक तथा संवेगात्मक विकास हुने भएकाले समय समयमा खेलकुद कार्यक्रम आवश्यक रहेको बताएकी थिइन् ।
साथै बोल्ने उनले खेललाई प्रभावकारी बनाउन खेलाडीहरुमा अनुशासन हुन पनि जरुरी रहेको बताएकी थिइन् । वडा सदस्य विष्णु गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, शंकर माध्यमिक विद्यालय पिपरीका प्रअ सुर्वणमान चौधरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, गुरुङ राष्ट्रिय परिषद् राप्ती गाउँपालिका अध्यक्ष लुमबहादुर गुरुङ, पिपरी गाउँ अगुवा पुरन चौधरी, बौद्ध गुम्बाका अध्यक्ष रेशमबहादुर थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव शान्ता केसीले गरेकी थिइन् ।