बंगाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालय सहित विभिन्न स्थानमा चोरी

कमिरेचौर, १८ पुष ।
दाङको बंगाचुली गाउँपालिका वडा नम्वर ५ को विभिन्न ठाउँमा गएराती चोरी भएको छ । चोरले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालय,लोहारपानी स्वास्थ्य चौकी, मनिषा होटेल र ठग बहादुर खत्रीको घर फोडेको छ ।

चोरले सबैभन्दा धेरै मनिषा होटेलबाट चोरेको छ । होटलका संचालक भुपेन्द्र बहादुर पुनका अनुसार ६३ हजार नगद र करिव ढाईतोला विभिन्न गरगहनाहरु चोरेको छ । चोरले नगद सहित दुई वटा माईली तिल्लहरी, एउटा बाला, एउटा चन्द्रमा, दुईवटा ‍औँठी, एउटा घाँटीमा लगाउने चोकर, एक जोली टप लगेको छ ।


त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालयबाट चोरले ५ वटा दराज फोडेको छ । दराजमा रहेको ८ हजार ५ सय १ रुपैँया लगेको वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिनुभयो।

वडा अध्यक्ष घर्तीका अनुसार चोरले लोहारपानी स्वास्थ्य चौकीको पाँचवटा दराज फोडेको छ । भने बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटी निवासी ठग बहादुर खत्रीको घरको ताला तोडेको छ । सबै ठाउँमा एकैचोटी चोरीभएको हुन सक्ने अनुमान छ । राति करिव १२ बजेदेखि डेढ बजेको विचमा चोरीभएको हुनसक्ने बताईएको छ ।